२०८१ कार्तिक २० , मंगलबार

कार्यदललाई सबै निर्वाचन क्षेत्रको प्रतिवदेन ल्याउन निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्य नेताहरुको बिहीबार बिहानको बैठकमा सबै निर्वाचन क्षेत्रबारे आवश्यक गृहकार्य गरी सबै निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन ल्याउन निर्देशन दिइएको छ ।

 

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटका लागि भएको छलफलमा थप गृहकार्य गरी १६५ निर्वाचन क्षेत्रकै प्रतिवेदन बुझाउन निर्देशन दिइएको सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । गठबन्धनले २० साउनमै सिट बाँडफाँटका लागि पाँच दलका ११ नेता सम्मिलित कार्यदल गठन गरेको थियो ।

तर कार्यदलले मात्रै त्यसबारे सहमति जुटाउन नसकेपछि हाल कार्यदलसहित शीर्ष नेताहरू नै त्यसबारे छलफलमा गरेका थिए । यसअघि सोमबार र मंगलबार निरन्तर गठबन्धनको बैठक बसेको थियो । बुधबार साँझ ५ बजे पुनः बैठक बस्ने भनिएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाहिर भएपछि बैठक स्थगित भएको थियो ।