२०८१ पुष ८ , सोमवार

नक्कली रक्सी उत्पादन गर्ने फ्याक्ट्रीमा छापा, पाँच जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंबाट प्रहरीले  नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।

प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो।

प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण-२ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।

प्रहरी उपरीक्षक मैनालीले वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको बताए।

यस्तै रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।