२०८१ कार्तिक २० , मंगलबार

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज महादेवको पूजा आराधना गरी मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल सौभाग्यको कामना गरी मनाइँदैछ । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ ।

 

अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा आजैको दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

 

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुले पुजाआजा गर्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिएको छ ।

 

पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । यस वर्ष कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।