सुनाखरी न्युज/ काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १२ गुणाभन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार भदौ १५ गते साझ ५ बजेसम्म ४ लाख २६ हजार ९९२ जना आवेदकहरूबाट ४७ लाख ८४ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । कम्पनीले भदौ १५ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकोले यो आइपीओ छिटोमा भदौ १९ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सक्नेछन् । हाल कम्पनीमा संस्थापकहरूबाट चुक्ताभएको पूँजी रू. ७ करोड रहेको छ । कर्मचारी समेत सर्वसाधारणमा आईपीओ विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार कायम हुनेछ । कम्पनीमा हाल संस्थापकतर्फ ६४ प्रतिशत शेयर स्वामित्व कायम छ भने सर्वसाधारणमा ३६ प्रतिशत शेयर वितरण गर्न लागेको हो ।
यस कम्पनीको वास्तविक वित्तीय विवरण अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. ६ करोड ५७ लाख बढी सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ९३ दशमलव ९१ र प्रतिशेयर नेटवर्थ रू. ३०२ रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रू. ३०२ देखि अधिकतम प्रतिकित्ता रू. ९०६ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ ।