२०८१ पुष २७ , शनिवार

उपत्यकामा डेङ्गी ज्वरोका बिरामी बढेपछि अस्पतालमा चाप

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डाै उपत्यकामा डेङ्गी ज्वरोका बिरामी बढेपछि अस्पतालमा चाप बढेकाे छ ।

 

यस वर्ष ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ र काठमाण्डाैमा तीन सय ३२ जनमा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अस्पतालमा अहिले दैनिक ३० देखि ३५ जना भर्ना गर्नुपर्ने खालका र ६० देखि ७० जना सामान्य लक्षण देखिएका डेङ्गीका बिरामी आउन थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. विमल चालिसेले बताउनुभयो ।

 

यस्तै वीर अस्पतालमा अहिले डेङ्गीका २४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका र सामान्य लक्षण देखिएका बिरामी बढेका अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो । एकै ठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गी सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोकेर डेङ्गी रोग सार्ने गर्दछ । डेङ्गीको रोकथाम गर्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

 

यसका लागि घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, बिहान–बेलुका सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउन वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न स्वास्थ्य मन्त्रालयको सुझाव छ ।