२०८१ माघ ३ , बिहिवार

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा थापा

सुनाखरी न्युज/ काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा हुतराज थापालाई बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार एआईजीसरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीसरह) मा बढुवा गरेको हो ।

 

विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे उमेर हदका कारण मंगलबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो । थापा विभागका दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्ये पहिलो वरीयतामा थिए । विभाग प्रमुख बन्न अर्का एआईजी ओम जोशी पनि प्रतिस्पर्धामा थिए तर सरकारले पहिलो वरीयताका थापालाई नै प्रमुखमा बढुवा गरेको हो । बढुवासँगै थापा अबको ३ वर्ष नेतृत्वमा रहनेछन् । थापाले २०५३ मा शाखा अधिकृतसरहको पदबाट सेवा प्रवेश गरेका थिए । उनी गत साउन ३० मा मात्रै एआईजीमा बढुवा भएका थिए ।

 

यसैगरी मन्त्रिपरिषद्ले थापा प्रमुखमा बढुवा भएपछि रिक्त पदमा अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको छ । कार्की हाल कर्णाली प्रदेशको राअवि प्रमुख छन् । यस्तै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर उनको ठाउँमा अर्का सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ ।