२०८१ पुष २६ , शुक्रवार

ग्रिल तथा स्टिल व्यवसायीहरुले गरे सहयोग

सुनाखरी न्युज/ काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौलाई सहयोग गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरेको हो ।

 

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौंका अध्यक्ष उद्धबप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन् । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँच सय बराबरको सफाई औजार तथा उपकरणहरु प्रदान गरेको जानकारी गराए । कार्यक्रममा उपमेयर डंगोल, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहन कटुवाल, बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौका अध्यक्ष तिमिल्सिनालगायतले बागमतिलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

 

कार्यक्रममा उपमेयर डंगालले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौको कार्यालय परिसरमा बृक्षारोपन पनि गरेकी थिइन् । कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै प्रमुख अतिथिलगायतलाई पनि मायाको चिनो दिइएको थियो ।