२०८१ आश्विन ७ , सोमवार

श्री गौ बोमबस्त माविमा ५८ औं राष्ट्रिय बालदिवस भब्य रुपमा मनाइयाे

सुनाखरी न्युज/ म्याग्दी । मालिका ५ देविस्थान स्थीत श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयमा गठित प्रतिभा बाल क्लबले र्याली गर्दै गाँउ परिक्रमा गरि दिवस मनाएको हो । बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित गाँउ परिक्रमा गरेर विद्यालय प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।

 

आयोजित कार्यक्रमका सहभागीहरुले जिम्मेवार परिवार, उत्तरदायी समाजमा मात्रै बालबालिकाको विकास हुने बताए । उनिहरुले बालबालिकाको विकास भए मात्रै समाज समुन्नत हुने बताएका थिए । बालक्लवका अध्यक्ष बिपाशा सिउथानीकाे अध्यक्षता तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे क्लबका सचिब बिनिषा बुढाले जानकारी दिनुभयाे । कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ विषयक वृहत् अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक शिक्षक तथा पत्रकार प्रकाश अधिकारीले गर्नुभएको थियो ।

 

बच्चाको शिक्षा भनेको अभिभावक र शिक्षकको सामुहिक प्रयत्न भएकाे भन्दै भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबीच हातेमालो गर्न आवश्यक रहेकाे बक्ताहरुकाे भनाई थियाे । बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने र आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्नो तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्छ तथा बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबीच अभिभावकले सल्लाह र सुझाव लिनुपर्नेमा जाेड दिइएकाे थियाे ।

 

शिक्षक कविता शर्माले स्वागत गरेकाे कार्यक्रममा अभिभावक दुर्गा बुढा, विद्यार्थीहरु सुमिना घर्ती र विनिषा बुढाथाेकी र शिक्षकहरु बुद्धि बहादुर राना, चेत बहादुर जिटी, सुनिता पाइजा, दीपक आचार्य, किरण थकाली, रस्मी पटेल र प्रेमकुमारी पुन लगायतले बोल्नुभएको थियो भने कार्यक्रम स‌चालन शिक्षक चेत बहादुर जिटीले गर्नुभएको थियो ।