सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिनुभएको छ। चाडपर्वको सन्दर्भमा बजार अनुगमन,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
त्यस्तैगरी, पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने लगायतका १२ बुद्धे निर्देशन दिनुभएको छ ।
यस्तो छ १२ बुँदे निर्देशन
१) यतिखेर हामी नेपालीहरूको महान् चाड दशैँ¸ तिहार¸ छठ लगायतका ठुला राष्ट्रिय पर्वहरूको सँघारमा छौँ । भोलिबाट दशैँ पर्वको पहिलो दिन घटस्थापना शुरु हुँदैछ । यस अवसरमा म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख¸ शान्ति¸ समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२) मुलुकमा दशैँ, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहल पहल शुरु भएसँगै बजारमा वस्तु तथा सेवाको उपभोगका लागि उपभोक्ताको माग बढ्नु स्वाभाविक हो । आम नागरिकहरूले उपभोग गर्ने अत्यावश्यक वस्तुको आपूर्तिलाई सुचारु राख्न र आपूर्ति प्रणालीमा कुनै व्यवधान आउन नदिन सरकार प्रतिबद्ध र क्रियाशील छ । सरकारले आफ्नो क्षमताले भ्याएसम्म सार्वजनिक संस्थानहरूमार्फत कतिपय उपभोग्य वस्तुहरू सहुलियत मूल्यमा विक्री वितरण गर्ने प्रबन्ध पनि मिलाएको छ ।
३) बजारमा वस्तु तथा सेवाको खरिदका लागि उपभोक्ताको चाप बढेसँगै यसै मौकामा कतिपय व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सेवा विक्री वितरण गर्ने¸ कतिपय उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि गर्ने¸ खाद्यवस्तुहरूमा मिसावट गर्ने लगायतका उपभोक्तालाई ठगी गर्ने घटनाहरू घटाउने सम्भावना रहन्छ । यसका लागि एकातिर सरकारका अनुगमन गर्ने निकायहरू बढी क्रियाशील हुन जरुरी छ भने अर्कातर्फ उपभोक्ता स्वयं पनि सचेत र जागरुक हुन आवश्यक छ ।
४) बजारमा कृत्रिम रूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न¸ अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न जिल्ला प्रशासन कार्यालयहरू¸ वाणिज्य विभाग र यस अन्तर्गतका निकायहरू¸ नेपाल गुणस्तर तथा नापतौल विभाग¸ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग¸ प्रदेश तथा स्थानीय सरकारहरू सबैले आ आफ्नो क्षेत्रमा अनुगमन र सुपरिवेक्षणलाई बढाउनु पर्ने हुन्छ।
५) यसर्थ अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न¸ अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन म माथि उल्लिखित सबै निकायहरूलाई सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन म निर्देशन दिन चाहन्छु । बजार अनुगमन गर्दा थोक तथा खुद्रा सबै किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्ष रूपमा निगरानी गर्नुपर्ने हुन्छ। यस क्रममा सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुने गरी संयुक्त अनुगमन टोली गठन गरी केन्द्रदेखि स्थानीय तहसम्म परिचालित हुन म सम्बन्धित निकायहरूलाई निर्देश गर्दछु ।
६) साथै¸ केन्द्रीय स्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय¸ गृह मन्त्रालय¸ उद्योग¸ वाणिज्य तथा आपूर्त मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरूले पनि बजार अनुगमन कार्यको समन्वय गरी बजारका गतिविधिलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन विशेष पहलकदमी लिन आवश्यक छ ।
७) अहिले इन्धन¸ खाने तेल¸ गहुँ लगायतका कतिपय खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा भएको मू्ल्य वृद्धि तथा रुस(युक्रेन युद्धका कारण विश्व आपूर्ति प्रणाली शृङ्खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेकोले उपभोक्ताहरू बढी मारमा परिरहेको स्थिति छ । त्यसमाथि बजारमा हुने कृत्रिम अभाव¸ कालो बजारी र अस्वाभाविक मूल्यले सर्वसाधारण जनतालाई थप आहत बनाउने हुन्छ । यस पृष्ठभूमिमा बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न म सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दछु ।
अब म बजार अनुगमनलाई प्रभावकारी बनाई उपभोक्ता हित कायम गर्ने सम्बन्धमा देहायका बुँदाहरूमा केन्द्रित भई कार्य गर्न म सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई निर्देशन गर्दछु ।
१) बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रणलाई सघन बनाउने ।
२) बजारका बहुपक्षीय विषयको अनुगमन गर्दा सम्बन्धित विषयविज्ञ सहितको संयुक्त बजार अनुगमन टोलीले बजारको अनुगमन गर्ने र त्यस्तो टोलीको संयोजन तथा नेतृत्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था मिलाउने ।
३) जिल्ला प्रशासन कार्यालयहरू र मातहतका इलाका प्रशासन कार्यालयहरूले स्थानीयस्तरमा खाद्यान्न, माछामासु लगायतका मालवस्तुको खरिद बिक्रीमा हुनसक्ने मिलेमतो, कार्टेलिङ, सिण्डिकेट र कालो बजारी जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न चाडपर्वको अवसरमा अनुगमनलाई सघन तुल्याउने।
४) यातायात व्यवस्था विभागले यात्रुहरूको सुरक्षित र भरपर्दो यातायात सुविधाको सुनिश्चितता गर्ने। साथै¸ सबै बसपार्क तथा प्रमुख नाकाहरूमा अनुगमन गरी सार्वजनिक यातायातका सवारी साधनले तोकिएभन्दा बढी भाडा नलिएको र क्षमता भन्दा बढी यात्रु नबोकेको सुनिश्चितता गर्ने। यस अतिरिक्त चाडपर्वको अवसरमा सञ्चालन हुने यातायात साधनको अवस्था सम्बन्धमा छड्के रूपमा प्राविधिक परीक्षण गरी सवारी साधनको अवस्था दुरुस्त रहे नरहेको जाँचपडताल गर्ने प्रबन्ध मिलाउने ।
५) पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने ।
६) कृषि विभाग तथा कृषि ज्ञानकेन्द्रले तरकारी तथा फलफूलको थोक तथा खुद्रा बिक्रीकेन्द्रको निरीक्षण गरी विषादी रहित तरकारी तथा फलफूल मात्र बिक्री वितरणको सुनिश्चितता मिलाउने। तरकारी तथा फलफूलमा जथाभावी विषादी मिसाउने उपर कडा कानूनी कारवाही गर्ने ।
७) बजारमा बिक्रीको लागि राखिएका माल वस्तुको तोकिए बमोजिमको गुणस्तर छ छैन र प्रयोगमा रहेका नापतौल उपकरणहरू मान्यता प्राप्त छन् छैनन् अनुगमन गरी गुणस्तरीय आपूर्तिको सुनिश्चितता गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्ने ।
८) राजमार्ग तथा प्रमुख शहरी केन्द्रमा सञ्चालित होटल तथा रेष्टुरेण्ट व्यवसायले विक्रीका लागि राखेको तयारी खाद्य वस्तु खानयोग्य र स्वस्थकर छ छैन भन्ने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सघन अनुगमन गर्ने ।
९) बजारमा डेङ्गी तथा कोभिड लगायतका रोगहरूसँग जुध्नको लागि अत्यावश्यक मानिएका आधारभूत औषधिहरूको पर्याप्त उत्पादन, सहज आपूर्ति र विक्री वितरणको सुनिश्चितता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले संयुक्त रूपमा अनुगमन गर्ने ।
१०) चाडपर्वको बेलामा बजारमा हुनसक्ने भिडभाडसँगै चोरी, लुटपाट जस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा राख्न संवेदनशील क्षेत्रमा अतिरिक्त संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै आम नागरिकलाई समेत सजग र सचेत गराउन गृह मन्त्रालय र मातहतका जिल्ला प्रशासन कार्यालयहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने । कहीँ कतै अवाञ्छित गतिविधि हुन लागेमा नजिकको प्रहरी वा प्रहरीको टोलफ्री नम्बर १०० मा फोन गर्न आम जनतालाई अनुरोध गर्ने ।
११) बजार अनुगमन र उपभोक्ताको हित संरक्षणका लागि सबै प्रदेश सरकार तथा स्थानीय तहलाई पूर्ण परिचालन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।
१२) सरकारले चाडपर्वहरूलाई लक्षित गरी खोलेको सहुलियत पसलहरूबाट बढी भन्दा बढी सर्वसाधारणले लाभ लिन सक्ने गरी प्रबन्ध मिलाउने तथा यसको आवश्यक प्रचार प्रसार गर्ने कार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मिलाउने।
जय नेपाल । धन्यवाद ।