सुनाखरी न्युज / काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।
घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेय लगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ ।
हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।