२०८१ कार्तिक २१ , बुधवार

चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

सुनाखरी न्युज / काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिनुभएको छ । उहाँले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गर्नुभयो ।

 

प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्री भुसालले भन्नुभयो, “जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।” उहाँले केही बेर पनि विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

 

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिनुभयो । कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागीता थियो ।