सुनाखरी न्युज/ पोखरा । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलेले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना गर्नुभएको छ । उक्त अवसरमा उहाँले कुविन्डो तथा बलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो । कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ । साथै उहाँले उक्त पूजाका बिभिन्न विधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गर्नुभएको छ ।
कार्यक्रम कै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज पन्त, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोईराला लगायतका सिनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो । यसका साथै गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेको कालिका भगवतीको मन्दिरमा संकल्प पूजा आरधना सम्पन्न भएको छ ।