२०८१ मंसिर ४ , मंगलबार

निर्वाचनमा ४० प्रतिशत सिट पाउनुपर्ने कोइराला पक्षको निष्कर्ष

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा.शेखर कोइराला समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

 

शेखर समूहका शीर्ष नेताको उपस्थितिबिना काठमाडौंमा बसेको उक्त समूहको भेलाले प्रत्यक्षतर्फ ४० प्रतिशत सिट पाउनुपर्ने निष्कर्ष निकालेको हो । समानुपातिक उम्मेदवार छनोटमा जस्ते संस्थापन पक्षले एक्लौटी रूपमा निर्णय गर्दै गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफूहरूलाई किनारा लगाउन खोजेको आरोप लगाउँदै सहभागीहरुले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने उनीहरुको चेतावनी छ ।

 

आगामी निर्वाचनको लागि प्रत्यक्षतर्फ उम्मेदवार मनोनयनको मिति नजिकिएसँगै शेखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन् । यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले आन्दोलन गरेका थिए । इतर समूहले आन्दोलन चर्काउँदै गएपछि पार्टी नेतृत्वले अन्तिममा समानुपातिक सूचीमा केही परिवर्तन गरेको थियो । संस्थापन इतर समूहले बिहिबार गरेको भेलामा सहभागी अधिकांश नेताहरुले पार्टीभित्र टिकट वितरणमा संस्थापन पक्षले गरेको एकलौटी गरेकाे निर्णय विरुद्ध लड्न नसकेको भन्दै इतर समूहका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

 

असन्तुष्ट नेताहरुले शुक्रबारभित्र नै इतर समूहका शीर्ष नेता डा.शेखर र महामन्त्री थापासहितका नेताहरूसँग बसेर अबको कदमकाे विषयमा छलफल गर्ने निर्णय गरेका छन् ।