२०८१ पुष ८ , सोमवार

गायत्री मन्त्र र यसको महिमा

चक्रपाणि शर्मा गौतम । बैदिक सनातन र हिन्दु धर्म अन्तर्गत गायत्री मन्त्रको महत्वपूर्ण स्थान छ।गायत्री जननी हुन र यिनलाई बेदकी आमा भनेर मानिएको छ।ऋषि बिस्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर यो गायत्री मन्त्र प्राप्तगरी प्रचलनमा ल्याएका हुन भन्ने कुरा हिन्दु शास्त्रहरुमा पाईन्छ।हिन्दु पुराणहरुका अनुसार गायत्री माताका तिनओटा नाम छन–(१)गायत्री,(२)साबित्री,(३)सरस्वती।गायत्री माता अन्नपूर्ण छन। उनैले सबै प्राणीहरुलाई शक्ति दिन्छिन।त्यसैले उनलाई शक्तिकी पुञ्ज भनेर पनि भन्ने गरिन्छ।गायत्री माता पांच अनुहारकी हुनुहुन्छ–

 

(१)ॐ——–पहिलो अनुहार।

(२)भूर भुव स्व:———दोश्रो अनुहार।

(३)तत् सबितुर वरेण्यं————तेश्रो अनुहार।

(४)भर्गो देवस्य धीमहि———————-चौथो अनुहार।

(५)धियो योन: प्रचोदयात्————————–पांचौं अनुहार।

उपरोक्त मन्त्रको हरेक शब्दको अर्थ यसरी बतायिएको छ–

(१)ॐ–पर ब्रह्म।

(२)भूर–भूलोक(प्रिथ्वी),पञ्चतत्वको प्रक्रिति।

(३)भुव–भूवलोक,मध्य संसार,प्राणशक्ति जसले शरीरको सङ्केत गर्छ।

(४)स्व:–स्वर्गलोक(देवताहरुको निवास स्थल) ।

(५)तत्–परमात्मा(भगवान अथवा ब्रह्म)।

(६)सवितुर –त्यो जसबाट यो सबै जन्मेको छ।

(७)वरेण्यम्–पूजा गर्न योग्य(पूजनीय)।

(८)भर्गो–बुद्धि दिने प्रकाशमय शक्ति।

(९)देवस्य–दैवी शक्ति।

(१०)धीमहि–हामी ध्यान गर्छौं,प्रणाम गर्छौं।

(११)धियो–बुद्धि,ज्ञान।

(१२)यो–कुन,कस्को।

(१३)न:–हाम्रो।

(१४)प्रचोदयात्–प्रकाशमय होस।

 

बिद्वान पाठकहरुले आ-आफ्नो ढंगले गायत्री मन्त्रको भाव बुझेर अर्थ लगाउन पक्कैपनि सक्षम हुनुहुने छ।तथापि यसको समग्र अर्थ यसरी बुझ्दापनि उपयुक्त हुनेछ जस्तो लाग्छ।हे!यस भूलोक,भूवलोक,मध्य संसार,प्राणशक्तिका स्वामी परमात्मा परब्रह्म परमेश्वर जसबाट चराचर यो जगत जन्मेको छ, त्यस्ता स्वामीलाई हामी ध्यान गर्दछौं,प्रणाम गर्दछौं र परमेश्वरबाट हामीलाई ज्ञान,बुद्धि,शक्ति प्रदानगरेर हाम्रो जीवन प्रकाशमय होस भन्नाखांतिर प्रभुको निरन्तर बन्दना गर्दछौं।बेदबाट उध्रित यस मन्त्रको शक्ति अपार छ,असीमित छ, अतुलनीय छ,अक्षय छ,मात्र कुरा के हो भने यस मन्त्रको ग्रहण,परिपालना,प्रयोजन,पूर्णत:ब्रह्मचर्य हुनुपर्छ भनेर शास्त्रमा स्पष्ट बतायिएको छ।

 

यो गायत्री मन्त्र तागाधारी(जनै लगाउने)जातिको निम्ति र अझ बिशेषगरी भन्ने हो भने ब्राह्मण जातिलाई उसको १६ ओटा कर्मसंस्कार सम्पन्न गर्ने क्रममा प्रदानयोग्य हुन्छ भनेर हाम्रो हिन्दु धर्म शास्त्रमा स्पष्ट बतायिएको छ।तागाधारी जातका कुमारहरुको ब्रतबन्ध(उपनयन)गर्दा मन्त्रदिने गुरुले शिष्यलाई गोप्यरुपले सम्बन्धितले मात्र सुन्ने र बुझ्नेगरी उसका कानमा बाहिर अवाज ननिक्लनेगरी भनेर दिने चलन थियो।बाहिर आवाज ननिकालीकन मनले जप्ने यो गायत्री मन्त्र पहिले सार्बजनिक रुपले भन्ने चलन थिएन।ब्राह्मणको छोरालाई सच्चा ब्राह्मण बनाउन १६ ओटा कर्मसंस्कार पूरा गर्नुपर्ने शास्त्रीय मान्यता छ।ब्राह्मणको कूलमा जन्मदैमा सच्चा ब्राह्मण बनिदैन।ब्राह्मण बन्न कर्म गर्नुपर्छ।शास्त्रमा भनिएको छ–

जन्मना जायते शूद्र: कर्मणा द्विज उच्यते।

अर्थात जन्मदा सबै शूद्ररुपमा उत्पन्न हुन्छन र पछि कर्म गरेर नै द्विज(ब्राह्मण)बन्दछन भन्ने कर्म संस्कारले स्पष्टरुपमा बर्णन गरेको छ।कर्म पूरा गरेर मात्र पनि ब्राह्मण बनिदैन,कर्म अनुसारको आचरण,ब्यबहार,शुद्धता,पबित्रता,अनुशीलता हुन पनि त्यत्तिकै जरुरी हुन्छ। गायत्री मन्त्रको नियमित र शुद्ध जप गर्नाले गायत्री माताका माथि उल्लेखित पांचवटै अनुहार हामी सबैको अन्तरात्मामा निहित भै नै रहन्छन।गायत्री माता बेदका सबै मन्त्रकी माता हुनुहुन्छ।त्यसैले यो मन्त्र जप्ता बेदका सबै मन्त्र जपे सरहको फल प्राप्त हुन्छ।गायत्री मन्त्रले हामीलाई मुख्यत: दुई कुरा प्रदान गर्छ–(१)बिघ्न-बाधा,हानी-नोक्सानीबाट बंचाऊंछ,(२)हामीमा भगवत तत्व(ब्रह्मत्व)को प्राप्ति हुन्छ।बिहान यो मन्त्रको जप गर्दा गायत्री माताको जप-ध्यान गरेको हुन्छ,मध्यान्न कालमा जप गर्दा साबित्री माताको जप-ध्यान हुन्छ भने बेलुका सांझमा जप गर्दा सरस्वती माताको जप-ध्यान गरेको हुन्छ।

 

बेद हिन्दु धर्म अन्तर्गत रहेका सम्पूर्ण शास्त्रहरु मध्ये सबैभन्दा जेठो र पुरानो ग्रन्थ हो।यो सक्षात उनै परमात्मा परमेश्वर बिष्णु भगवानको मुखारबिन्दुबाट निष्केको ग्रन्थ हो।यस ग्रन्थमा भएका शक्तिशाली मन्त्रहरु मध्ये गायत्री मन्त्र पनि एक हो। अध्यात्म बिद्यामा मन्त्रशक्तिलाई सर्बश्रेष्ठ शक्ति मानिएको छ।यिनै मन्त्रहरुको प्रयोगबाट हाम्रा ऋषि-मुनीहरुले प्रमाणित रुपले सिद्ध गरेको चमत्कारिता अहिलेको बिस्वसामु छ।यिनै-यिनै कारणले गर्दाखेरि हाम्रो हिन्दु धर्म निकट भबिष्यमा बिस्वमय हुने दर्शन शास्त्रीहरुले उद्घोष गरिसकेका छन। हिन्दु धर्मको सर्वश्रेष्ठ ग्रन्थ श्रीमद्भगवतगीता बिस्वका १०० भन्दा बढी भाषाहरुमा अनुबादित भैसकेको अवस्था छ,नासाले हाम्रो देववाणीरुपी संस्क्रित भाषाको खोज,अध्ययन-अनुषन्धान गरिरहेको छ,तर देवभूमि,तपोभूमि,ऋशिभूमि,पून्यभूमी,आदि भनेर बिस्वमा चिनिएको हिन्दु अधिराज्य नेपालमा जन्म लिएर हामीले भने आफ्ना माता-पिताले ब्रतबन्ध(उपनयन)कर्म सन्पन्न गरायिदिएर गलामा धारण गराएको यज्ञोपवित(जनै)बोझ ठानेर आफ्ना गलाबाट निकालेर फालेको अवस्था छ।गलामा जनै लगाएर आफुलाई आफैले तूच्छ ठानिएको वस्तविकताका कारण जनै फ्यांकिएको होइनर?यो जनै साच्चिनै हामीलाई बोझै भएको हो त? यस्तो महिमामयी गायत्री मन्त्रलाई घ्रिणा गरेर बिर्संदै जाने ठीक होला त? यसो गर्दा हामीले हाम्रो पहिचान बिस्वसामु उभ्याउन सक्षम हौंला त?गम्भीर भएर हामीले सोच्नैपर्ने बिषय यहि हो।हाम्रो धर्मशास्त्रमा भनिएको छ—

सर्ववेदपुराणेषु साङ्गोपाङ्गोषु यत्फलम्।

सक्रिदस्य जपादेव तत्फलं प्राप्नुयान्तर:।।

भावार्थ—सम्पूर्ण पुराणहरु र वेदहरु पढेर,अध्ययन गरेर जुन फल मिल्छ त्यो सबै फल गायत्री मन्त्र एकपटक जप्नाले मात्र प्राप्त हुनसक्छ।यस मन्त्रको महिमाको वारेमा शास्त्रमा एक अर्को प्रसङ्गमा भनिएको छ—

इदं महामुनिप्रोक्तं गायत्रीतत्वमुत्तम्।

य: पठेत्परया भक्त्सा स याति परमां गतिम्।।

भावार्थ—जो साधक(भक्त)ले यस गायत्री मन्त्रलाई परं भक्तिपूर्वक पाठ(जप) गर्दछ,उसले परंगति प्राप्त गर्दछ भनेर महामुनी(बिस्वामित्र)ले ब्याख्या,बर्णन गर्नुभएको छ।

हामी भने हाम्रो अगाडि भएको हिरा,मोती,मणि,आदिलाई कुल्चेर कांचको खोजीगर्दै अन्यत्रै भौंतारिदै गरेको अवस्था छ।केही काल यता देखिको गायत्री मन्त्रको छाडापनले यहि कुराको सङ्केत गरिरहेको भान हुन्छ। अत: यस गायत्री मन्त्रसंग सम्बन्धित हामी सबैले यसको औचित्य र बास्तबिकतालाई आत्मसाथ गर्न नसक्ने हो यदि भने क्रमश: हामिले हाम्रै सिङ्गो पहिचान गुमाउंदै जानेछौं भन्दा कुनै अत्युक्ति नहोला। अस्तु!