२०८१ मंसिर १० , सोमवार

काठमाडौंमा डेंगुका बिरामी घट्दै, स्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकको सुझाव

सुनाखरी न्युज/ काठमाडौं । जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैं सुरु हुनु अघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन् ।

 

दशैं अघिसम्म देशभर नै डेंगु महामारीले आक्रान्त बनाए पनि जाडो याम सुरु भएसँगै संक्रमण कम हुँदै गएको र बिरामी कम अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना र एक जना आईसीयूमा उपचार भइरहेको छ । उहाँले दशैंको बेलामा अस्पतालले डेंगु बढ्ने अनुमान गरेर आवश्यक तयारी गरेपनि बिरामी कम भएको बताउनुभयो । सूचना अधिकारी गौतमले इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको जानकारी दिंदै अस्पतालमा अन्य सरुवारोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेको बताउनुभयाे ।

 

उहाँले सबैले लामखुट्टेको टोकाइबाट बच्न झुल, लोसनको प्रयोग, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने र घरवरपर सफा राख्ने गरेमा डेंगुबाट बच्न सक्ने बताउनुभयो । उता स्वास्थ्य मन्त्रालयले पनि देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेकाले शतर्क रहन आग्रह गरेको छ ।