सुनाखरी न्युज/ काठमाडौं । यस पटकको चुनावमा सार्वजनिक यातायात चल्ने भएका छन् । निर्वाचन आयोगले चुनावको दिन पनि ब्यबस्थित ढंगले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको हो ।
आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको दिन सार्वजनिक यातायात ब्यबस्थित ढंगले संचालन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनले यातायात बन्द हुँदा मतदातालाई मतदान स्थलसम्म जान असहज भएको, मतदाता ओसारेको आरोप लाग्ने गरेको र सबै तिरबाट प्राप्त सुझावको आधारमा मतदानको दिन सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको बताए । उनले निर्वाचन हो कि नेपाल बन्द हो भन्ने जस्ता गुनासो आएकोले पनि यातायात संचालन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै उनले सार्वजनिक यातायात बन्द गर्दा सवारी चलाउनको लागि पास लिनेहरुको भिड अत्याधिक बढेकोले पनि यो निर्णय गरेको जानकारी दिए । यस अघिका निर्वाचनमा मतदानको दिन सार्वजनिक यातायात बन्द हुने गरेको थियो। अब भने मतदानको दिन पनि सार्वजनिक यातायात चल्ने भएको हो ।