२०८१ मंसिर ५ , बुधवार

देशभर ६ हजार उम्मेदवारको मनोनयन दर्ता

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ करिब ६ हजार उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

 

प्रतिनिधिसभाका १ सय ६५ क्षेत्र र सात प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमा खडा गरिएका निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आइतबार मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधिसभातर्फ २ हजार ४ सय ९४ जना तथा प्रदेशसभातर्फ ३ हजार ४ सय २३ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौं ४ मा सबै भन्दा बढी ३५ जनाको उम्मेदवारी परेको छ ।

 

यो क्षेत्रमा कांग्रेसबाट गगन थापा, एमालेबाट राजन भट्टराई, राप्रपाबाट ठाकुरमोहन श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदा १७ जना स्वतन्त्र उम्मेदवारले यही क्षेत्र रोजेका छन् । लैंगिक आधारमा हेर्दा एमालेले सबै भन्दा बढी ११ जना महिलालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट दिएको छ । नेपाली कांग्रेसले ५ जना महिला उम्मेदवार खडा गरेको छ ।

 

दलगत हिसाबमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै भन्दा धेरै उम्मेदवार उठाएको छ । राप्रपाले एमालेसँग तालमेल भएका प्रतिनिधिसभाका ‍३ क्षेत्र बाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । निर्वाचन आयोगले कुनै पनि उम्मेदवारविरुद्ध आज सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने जनाएको छ ।