२०८१ मंसिर ११ , मंगलबार

भारतका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन

सुनाखरी न्युज/ नयाँदिल्ली। भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ वर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो । उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मिनुभएको हो । समाजवादी पार्टीको स्थापना स्वर्गीय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गर्नुभएको थियो ।

 

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोग्नुभएका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उहाँ सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनुपरेको थियो । उहाँलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो । उहाँले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णय लिनुभएको थियो भने बेला बेलामा विवादमा पनि पर्ने गर्नुहुन्थ्यो । भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उहाँ तीन पटक मुख्यमन्त्री बन्नुभयो भने एक पटक केन्द्रीय मन्त्री हुनुभएको थियो ।

 

आम निर्वाचनबाट उहाँ १० पटक निर्वाचित हुनुभएको थियो । तीमध्ये सात पटक लोकसभा सदस्य बन्नुभएको थियो । उहाँ पहिलो पटक सन् १९६७ मा २८ वर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो ।