२०८१ कार्तिक २१ , बुधवार

गैर-नागरिकता ऐनलाई संशोधन गर्ने देउवाकाे प्रतिवद्धता

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ ।

 

मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले सरकारले गैरआवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाले नेपालमा पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले हरेक गैरआवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

 

उहाँले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवर्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुभएकाे छ ।

 

साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले गैरआवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताउनुभयो ।

 

उहाँले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।