२०८१ पुष १० , बुधवार

ईयूको हवाई सुरक्षा अडिटको प्रारम्भिक नतिजा यसै साता

सुनाखरी न्युज/ काठमाडौं ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा) ले नेपालमा गरेको सेफ्टी अडिटको प्रारम्भिक नतिजा यसै साता आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपालमा अघिल्लो साता भएको परीक्षणको नतिजा यसै साता आउने सम्भावना छ । ईयूले खटाएको तीन सदस्यीय टोलीले नेपालले हवाई सुरक्षामा अपनाएको विधिको सैद्धान्तिक तथा दुई वटा कम्पनीको स्थलगत अनुगमन समेत गरेको थियो ।

 

अब टोलीले नेपालमा देखिएको अवस्थाबारे आफ्नो प्रतिवेदन र केही चासो भए सो समेत समेटेर प्राधिकरणमा पठाउने उनले जानकारी दिए ।

प्राधिकरणका अधिकारीहरु यस पटकको इयू टोलीको भ्रमणबाट आशावादी छन् ।

नेपाल सन् २०१३ देखि युरोपेली युनियनको सुरक्षा चासोको सूचीमा रहेको छ । जसले गर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीले यूरोपको आकासमा उडान गर्न पाउँदैनन् । पछिल्लो समय ईयू मातहतकै मुलुकका वायुसेवा समेत नेपाल आउन चाहिरहेको समयमा भएको अडिटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसबीचमा टोलीले तारा एयर र समिट एयरको स्थलगत अनुगमन गरेको थियो । टोलीले ५ अक्टोवरदेखि ८ अक्टोवरसम्म नेपालमा काम गरेको थियो ।

युरोपेली युनियन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको सन्दर्भमा उठाएका हवाई सुरक्षासँग सम्बन्धित धेरै चासोमध्ये नियमनकारी निकाय र सेवा प्रदायक निकाय एउटै हुनु हुँदैन भन्ने हो । यसलाई सम्बोधन गर्न सरकारले दुई विधेयक संसदमा विचाराधिन छन् ।