२०८१ पुष २७ , शनिवार

अब मर्जमा गएका बैंकको शेयर कारोबार रोक्का नहुने

सुनाखरी न्युज/ काठमाडौं । बैंकहरु एक आपसमा मर्ज हुँदा अब शेयर कारोबार रोक्का नहुने भएको छ । राष्ट्र बैंकले मर्जर सम्बन्धी नियमावली संशोधन गरी मर्जको समयमा शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको हो ।

 

राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा पाचौ संशोधन गर्दै कारोबार निरन्तर जारी रहने व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्ने विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । यसै अनुसार राष्ट्र बैंकले नियमावली संशोधन गरेर नीतिगत ब्यबस्था गरेको हो ।

 

यस्तै, पाचौ संशोधनले गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि गएमा मर्जर सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउन सकिने ब्यबस्था पनि गरेको छ ।