सुनाखरी न्युज/ काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १: ३५ बजेसम्ममा साढे २ गुणा बढी शेयरको लागि आवेदन परेको हो ।
कम्पनीको आईपीओमा १ लाख ३५ हजार ४२९ वटा आवेदनबाट १५ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरको १५ लाख ८० हजार ४१० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २.५३ गुणा बढी हो । कम्पनीले आज शुक्रबारदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
सर्वसाधारणले बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ताका लागि मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले कार्तिक १ गते भित्र आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमवि क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।