२०८१ मंसिर ११ , मंगलबार

१४ सय चालक एकै दिन ट्राफिक नियम उल्लंघनको कारबाहीमा

सुनाखरी न्युज/ काठमाडौं ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले शनिबार एकै दिन एक हजार ४०७ जना चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । कार्यालयले स्पष्ट रुपमा नम्बरहरू नदेखिने र मापदण्डअनुसार नम्बर प्लेट नराख्ने सवारी साधन जाँच अभियानलाई तीव्रता दिएको छ । त्यही क्रममा शनिबार एकै दिन एक हजार ४०७ जना चालक कारबाहीमा परेका हुन् ।

 

प्रहरीले शनिबार गरेको विशेष चेकिङमा नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ मोटरसाइकलका चालकलाई कारबाही गरेको कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक विष्ट क्षेत्रीले जानकारी दिए ।

 

उनका अनुसार चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ८८ जना चालक पनि कारबाहीमा परेका छन् ।