२०८१ पुष २८ , आइतवार

सिमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीयः मुख्यमन्त्री पोखरेल

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

 

“६७ औं प्रहरी दिवस २०७९” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउनुभयो । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताउनुभयो ।

 

प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्ति सुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतमा जस्तै महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

 

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरिक्षक धिरजप्रसाद सिंहको शुभकामना सन्देश प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले बाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री सहित अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो ।