२०८१ आश्विन ७ , सोमवार

आर्क ब्रिजमा चढेका युवक तल झर्न नमानेपछि…

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको ‘आर्क ब्रिज’ मा गत शनिबार बिहान एक युवक चढे । आर्कको नेटवर्कमा निष्फिक्री हिँडेपछि बटुवा र स्थानीयबासिन्दाले तल झर्न अनुरोध गरे । तर, ती युवक मानेनन् । उनी त्यहीं गएर सुते ।

प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि  नयाँबानेश्वरबाट प्रहरी टोली बिजुलीबजार पुग्यो । सवारी साधनको आवागमन बन्द गरियो र माइकिङ गरेर उनलाई तल झर्न प्रहरीले अनुरोध गरे । ‘हामीलाई देखेपछि त सुतिरहेको मान्छे त उठेर यताउता हिंड्न थाल्यो, तल खस्छ कि भन्ने डर भयो,’ नयाँबानेश्वर प्रहरी प्रमुख निशान्त श्रीवास्तवले भने, ‘पछि ऊ आफैं ओर्लियो ।’ ती युवकलाई उद्धार गर्न करिब आधा घण्टारपैंतालिस मिनेट लागेको श्रीवास्तवले बताए ।

 

उनलाई प्रहरीले सोधपुछ गर्दा नाम कृष्णबहादुर श्रेष्ठ, वर्ष २५ र ठेगाना सिन्धुपाल्चोक जिल्ला ठूलो सिरुबारी–६ भने । प्रहरीका अनुसार उनको भनाइमा एकरुपता थिएन । ‘कहिले के बोल्थे, के बोल्थे, अलि अस्वाभाविक व्यवहार देखाए,’ डिएसपी श्रीवास्तवले भने, ‘कहिले खुट्टा बजारेर हामीलाई सलाम ठोक्थे ।’

छिन–छिनमा कुरा फेर्ने र आफन्त पनि पत्ता नलाग्ने अवस्था भएपछि हिजो ९सोमबार० स्थानीयबासिन्दाको जिम्मा लगाइएको डिएसपी श्रीवास्तवले जानकारी दिए ।

 

बिजुलीबजारको आर्कब्रिजको माथि मानिस चढ्ने घटना भएको यो पहिलो भने होइन । यसअघि पनि यस्ता घटना भएका छन् । यसअघि एक युवक स्केटिङ खेल्दै आर्कमाथि चढेका थिए ।