२०८१ पुष १७ , बुधवार

रुसी आक्रमणपछि युक्रेनमा चरम ऊर्जा संकट

सुनाखरी न्युज/ किभ-मस्को ।

रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा गरेको भीषण आक्रमणपछि देशभर उर्जा संकट उत्पन्न भएको छ । रुसी फौजले मंगलबार ऊर्जा केन्द्रहरूमा गरेको आक्रमणपछि राजधानी किभसहित प्रमुख सहरहरूमा चरम ऊर्जा संकट उत्पन्न भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

 

रुसी आक्रमणमा परी राजधानी किभमा कम्तीमा २ जनाको मृत्यु भएको जनाइएको छ । डिनिप्रो नदी नजिकैको ऊर्जा केन्द्रमा गरिएको आक्रमणपछि धूवाँको निकै ठूलो मुस्लो आकाशमा फैलिएको बीबीसीले जनाएको छ । जाइटोमिर, पश्चिमी किभ र डिनिप्रोका केन्द्रहरू पूर्णरूपमा क्षतिग्रस्त भएपछि ऊर्जा तथा पानीको चरम अभाव भएको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

‘आक्रमण निरन्तर भइरह्यो भने हामी सबै जना विद्युत बचाउन तयार हुनुपर्छ,’ युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले भने, ‘सबै जनसंख्या निकै कठिन जाडोयामका लागि तयार रहनुपर्ने भएको छ ।’

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गएको आठ दिनमा युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू रुसले ध्वस्त पारेको बताएका छन् । जसका कारण देशका अधिकांश क्षेत्रमा अन्धकारको अवस्था आएको उनको भनाइ छ ।

 

 

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य कारबाही थालेको हो । त्यसयता युक्रेन तथा रुसका हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ भने दसौं लाख विस्थापित भइसकेका छन् ।
एजेन्सी