२०८१ मंसिर ११ , मंगलबार

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं ।
बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ।

थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ।

पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। जसको अवधि मंगलबार सकिएको छ। तर, मंगलबार सार्वजनिक बिदा भएकाले आज म्याद थपका लागि अदालतमा उपस्थित गराउने भएको हो।