२०८१ आश्विन ७ , सोमवार

“तिहार रम्छ हारमा”

✍️ उत्तम विचार ।
दिदी र भाइबीचमा बनेर सेतु प्यारको
तिहार जोडियो नयाँ लिएर हेतु प्यारको ।
प्रदीप्त दीपले निशा स्वयम् उषा भनाउँछ
उनेर पुष्पहारमा तिहार मग्मगाउँछ ।।१।

 

छ सप्त रङ्गको टिको निधारमाझ टल्किने
तिहारमा स्वदेशको रितीरिवाज झल्किने ।
बसेर काग छेउमा सुबोल बोल गाउँछ
दसैँ बिदा भएसँगै तिहार पर्व आउँछ ।।२

 

हरेक आँगनी पुगी तिहार मान्न देउसी
मिलेर खेल्दछन् सबै उमेरका हुँदै खुसी ।
रहन्न व्योममा घटा सुदूरमा हराउँछ
र याम आउँदा शरद् तिहार साथ ल्याउँछ ।।३

 

सकिन्न किन्न झैँ भयो छ मूल्य चर्किँदो अति
छ हाल देशको उही विकासको अधोगत
ब्युँझेर घाम पूर्वमा बिहानमा चिहाउँछ
तिहार आउँदा मनै खुसीखुसी रमाउँछ ।।४।

 

भुलेर हुन्न मान्यता परम्परा स्वदेशको
समस्त चाडबाड हुन् अमूल्य रत्न देशको ।
म गर्व गर्छु पर्वमा कला नमास सभ्यता
निमोठ्नु हुन्न त्यो गला कदापि हुन्न भव्यता ।।
[[पञ्चचामर छन्द ]