२०८१ मंसिर ५ , बुधवार

संसदीय निर्वाचनमा ४० वर्षभन्दा मुनिका साढे ७ सय उम्मेदवार मैदानमा

सुनाखरी न्युज/ काठमाडौं । आगामी मंसिर ४ गते हुने चुनावमा ४० वर्ष भन्दा कम उमेरका साढे ७ सय बढी युवाले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार ७५९ जना उम्मेदवार ४० वर्षभन्दा कम उमेरका छन्।

 

प्रतिनिधि सभाको निर्वाचनमा कुल २ हजार ४१४ जनाको उम्मेदवार परेको छ। जसमा २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेदवार छन्। कुल उम्मेदवारमा ८०० भन्दा बढी स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको कारण ४० वर्षभन्दा कम उमेरका उम्मेदवार समेत निकै धेरै देखिएका छन्। उम्मेदवारी दिने ४० वर्ष मुनिका उम्मेदवारमा ३५७ जना स्वतन्त्र उम्मेदवार देखिएका छन्। उनीहरुले प्रतिनिधि सभाको सांसद बन्नका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन। ठूला राजनीतिक दलहरुको भने ४० वर्ष भन्दा कम उमेरका उम्मेदवार निकै कम छन्।

 

प्रतिनिधि सभाको सांसद बन्नको लागि २५ वर्ष उमेरका २० जना युवाले उम्मेदवार दर्ता गराएका छन् यस्तै २६ वर्ष उमेरका २७ जना युवाले उम्मेदवारी दिएका छन् भने २७ वर्ष उमेरका २६ जना, २८ वर्ष उमेरका ३४ जना, २९ वर्षका ४६ जना र ३० वर्षका ४२ जना युवा उम्मेदवार छन्। चुनाबी मैदानमा उत्रिएका ४० वर्षभन्दा कम उमेरका उम्मेदवारमा महिलाको सँख्या भने पुरुषको भन्दा कम छ। कुल ७५९ उम्मेदवारमा ६६० जना पुरुष उम्मेदवार छन् भने बाँकी ९९ जना महिला उम्मेदवार रहेका छन्।

 

युवाहरुको स्वतन्त्र उम्मेदवारी बढ्दै जाँदा यसले राजनीतिक दलहरुलाई चुनौती बढ्दै गएको चर्चा समेत हुँदै आएको छ। तर राजनीतिक दलका शिर्ष नेताहरु भने यस कुरालाई स्वीकार्दैनन्।