सुनाखरी न्युज/ काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोइन पर्व मनाउन भेला भएका हजारौं मानिसहरुबीच एउटा साँघुरो गल्लीमा ठेलमठेल हुँदा एकआपसमा च्यापिएर १ सय ४९ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ७६ जना घाइते भएका छन् । कोरोना महामारीपछि पहिलोपटक सार्वजनिक स्थालमा विना मास्क भेला हुन अनुमति दिइएकाले सियोलकै चर्चित रात्रिकालिन मनोरञ्जन स्थल इटावनमा ह्यलोइनका लागि हजारौं मानिस भेला भएका थिए । रात्रिकालिन मनोरञ्जनका लागि अधिकांश युवाहरु भेला भएकाले मृत्यु हुनेमा पनि युवाहरु नै धेरै रहेका छन् । घटनामा दुई जना विदेशी नागरिकको पनि मृत्यु भएको बताइएको छ । साथै १५ जना गैर कोरियाली घाइते भएका छन् ।
घटना लगत्तै दक्षिण कोरियाली राष्ट्रपति युन सुक इलले आपतकालिन बैठक आव्हान गरी घाइतेको उपचारका लागि टास्कफोर्स गठन गर्नुका साथै भागदौडको कारण बारे छानविन गर्न निर्देशन दिनुभयो । सियोलमा भएको भागदौडको घटना पछिल्लो दशककै भागदौडका घातक घटना मध्येको एक हो ।