२०८१ पुष २८ , आइतवार

पेट्रोलियम पदार्थको आयात ३४ प्रतिशत बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । साउन र भदौ महिनामा गत वर्षको समीक्षा अवधिको तुलनामा समग्र आयात १३ प्रतिशतले घटे पनि सोही अवधिमा पेट्रोलियम पदार्थको आयात भने ३४ प्रतिशत बढेको छ ।

 

भन्सार विभागका अनुसार साउन र भदौ महिनामा कुल २ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्रै भित्रिएको छ । गत वर्षको यसै अवधिमा जम्मा ३४ अर्ब १८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । रकमका आधारमा साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १६.७ प्रतिशत पुगेको छ । जबकि गत वर्षको साउन र भदौको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा जम्मा १०.९ प्रतिशत मात्रै थियो । समग्रमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा कुल आयातमा यसको हिस्सा समेत बढेको देखिएको हो ।

 

मुलुकमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । साउन र भदौमा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थपछि क्रमश: सवारीसाधन र पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, औषधि, कच्चा सोयाबिन तेल, सञ्चार प्रविधि उपकरण, रासायनिक मल, स्पन्ज आइरन, कच्चा पाम तेल र एमएस बिलेट रहेका छन् ।