२०८१ आश्विन ७ , सोमवार

५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने सरकारको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण सुरु भएको ५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले ५० औँ हप्तामा सङ्क्रमण शून्य हुने प्रक्षेपण गरिएको बताए ।

 

नेपालमा डेंगु सङ्क्रमण ४२ औँ हप्तामा प्रवेश गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३६ औँ हप्तामा उच्च विन्दुमा पुगेको थियो । नेपालमा जाडो मौसम सुरु भए पनि डेंगुका केसहरू धमाधम पुष्टि भइरहेका छन् । तीन महिनायता ७७ जिल्लामा ४६ हजारभन्दा धेरै डेंगुका केस पुष्टि भइसकेको छ भने ५२ जनाको ज्यान गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सङ्क्रमणबाट जोगिन डेंगु रोग नियन्त्रणका लागि बीटीआई कार्यविधि बनाएको छ । कार्यविधि अनुसार अगाडि बढेमा केही हदसम्म डेंगु नियन्त्रण गर्न सहजता हुन सक्ने महाशाखाको भनाई छ ।

बीटीआई माटोमा पाइने जैविक वा प्राकृतिक रूपमा हुने व्याक्टेरिया हो । लामखुट्टे नियन्त्रणका लागि बीटीआई धेरै रूपहरूमा बजारमा पाइने गर्छ । जस्तै डन्क्स, ट्याब्लेट, गोली, दाना वा तरल पदार्थसहित हुन्छ । बीटीआईमा प्रत्येक हप्ता पानी खाली गर्ने, ढाक्न वा पल्टाउन नसकिने कन्टेनरहरूमा प्रयोग गर्न सकिन्छ । ईडीसीडीका अनुसार वर्षा ब्यारेल, झरना, सजावटी पोखरीहरू, र प्रयोगमा नभएका पोखरीहरुमा ह्यान्डहेल्ड स्प्रेयरहरु वा हातले टस गरेर प्रयोग सकिन्छ ।