२०८१ मंसिर १३ , बिहिवार

एनआइसी एशिया बैंकको नाफा ४९ प्रतिशत बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । एनआइसी एशिया बैंकले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ।

 

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३ अर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ। यसैगरी, बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ। साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न बैंक सफल भएको छ। स्व–पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रैमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ।

 

बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ। यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

 

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।