२०८१ आश्विन ६ , आइतवार

‘छड्के २’मा अनमोलको ग्याङ्स्टर लुक, फागुन १९ देखि प्रदर्शन हुने

सुनाखरी न्युज /काठमाडौं । फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् ।

 

मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो ।सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्।

 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथै रोविन तामाङ र कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन।काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

 

६० दिनको छायांकन तालिका रहेको फिल्म चितवन र मुस्ताङमा खिचिएको हो। यही मितिमा मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’, समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुलाबी, र दीपकराज गिरी र दीपा श्री निरौलाको ‘छक्का पञ्जा ४’ प्रदर्शन हुनेछन्। अनमोलको ‘०।२ छड्के’ भन्दा अगाडि यी फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिए।