सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ब्रेन ड्रने रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘मैले यसअघि नै बिसिडी मोडल तयार ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ उनले भने, ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’
त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने बताए । ‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेको छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु ।’ नेता पौडेलले भने । नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका वडा नं २ अन्तर्गत ग्रैरीधारा लगायतका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका थिए ।