२०८१ पुष १० , बुधवार

होटल व्यवसायीले बुझाए राष्ट्र बैंकलाई ज्ञापनपत्र

सुनाखरी न्युज/ काठमाडौं । होटल व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा होटल व्यवसायीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष ज्ञापन पत्र प्रस्तुत गरेका हुन् ।

 

ज्ञापनपत्र वाचन गर्दै होटल संघ नेपालका अध्यक्ष सृजना राणाले क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको बताईन् । सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो बर्ष ६ लाख पर्याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको उनको भनाई छ ।

 

अध्यक्ष राणाले भनिन्, ‘हामी व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता हो । लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ ।’

 

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने व्यवसायीको माग रहेको छ । बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने उनीहरुको माग रहेको छ ।