२०८१ मंसिर ११ , मंगलबार

बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश, केन्द्रीय कारागार चलान

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । त्यसमाथि मंगलबारदेखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए ।

उनका पक्षका वकिलहरुले बलात्कार आरोपभन्दा पनि पीडित नाबालिग हुन् वा होइनन् भन्ने विषयमा बहस गरेका थिए । सन्दीपका वकिलहरुले पीडितले जन्ममिति सच्याएको र उनी नाबालिका नभएको जिकिर गरेका थिए ।

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइने

बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।