२०८१ मंसिर ९ , आइतवार

लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरुको लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएको देखिएको छ। यस दिन सर्वाधिक शेयरमूल्य बढ्ने १० स्टकहरुको सूचीमा ९ वटा लघुवित्त परेका छन्।

 

जसमध्ये ४ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, यस दिन उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर भने साढे २ प्रतिशत भन्दा कम रहेको छ।

 

लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.५८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य र वित्त उपसमूहको परिसूचक पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ।

 

आइतबार नेप्से परिसूचक ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २२८ स्टकको २७ हजार ७६८ पटकको कारोबारमा १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको ३९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

कारोबार रकमका आधारमा यस दिन नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन १३ प्रतिशत बोनस शेयरसहित साढे २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको एभरेष्ट बैंकको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।