२०८१ आश्विन ६ , आइतवार

‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनले उपासना विवादमा

सुनाखरी न्युज / काठमाडौं – आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको थियो । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ ।

 

उपासनाले यो गीतमा एउटा यस्तो लहंगा लगाएर नाचेकी थिइन जहाँ स्वयम्भू र बौद्ध स्तुपा खिपिएको थियो । सोसल मिडियामा यो फोटो सार्वजनिक भएसँगै बौद्ध समुदायले उनको यो गीतमा आपत्ति जनाएको हो । उपासनाको लुगाले बौद्ध सम्प्रदायको आस्थामा आँच पुगेको भन्दै यो समुदाय विरोधमा उत्रिएको हो ।

 

दीपक शर्माको शब्द तथा संगीत रहेको गीत निर्माण टिमले केही समय भित्र नै सार्वजनिक गर्ने जनाएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा स्वयम्भू र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ । यो गाउनलाई सुनिता श्रेष्ठले डिजाइन गरेकी हुन् ।