२०८१ पुष २७ , शनिवार

‘एक्सिलेन्सी’को रुपमा बैंकिङ क्षेत्रमा स्थापित हुने योजना छ: सीईओ न्यौपाने

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकिङ करियर शुरु गरेको दश वर्षमै  एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने ३८ वर्षे रोशन कुमार न्यौपाने ।

न्यौपानेले पहिलो चार वर्षे कार्यकाल सकेर दोस्रो कार्याकालको लागि पुनःनियुक्ति भइसकेका छन् । सहायक प्रमुख कार्यकारी अधिकृत, निमित्त प्रमुख कार्यकारी अधिकृत हुँर्द सीईओ बनेका न्यौपानेको नेतृत्वमा रहेको बैंकले पछिल्लो पाँच वर्षको अवधिको परिणामले मुलुकको बैंक तथा वित्तीय क्षेत्र नै अचम्मित छ ।

रणनीति बनाए, योजना बनाए, टिम परिचालन गरे, वातावरण बनाए र संस्कार विकास गरे । जसको परिणाम पाँच वर्षको अवधिमा एन आई सी एशिया बैंक मुलुकको सबैभन्दा ठूलो र सबैको रोजाइको बैंक बन्न सफल भएको छ । यसमा उनको व्यक्तित्व, बैंकिङ करियर र फराकिलो सोच जोडिएको छ ।

बैंकिङ क्षेत्रमा समकालिन बैंकरहरुमध्ये न्यौपाने दुईरतीन जना तिख्खर र प्रखर व्यक्तिमा पर्छन् । एक सफल सीईओमा स्थापित हुँदै गर्दा धेरैले उनलाई नेपालको वित्तीय क्षेत्रको उदाउँदो विज्ञ भनेका छन् ।

आखिर छोटो समयमा उनको बैंकिङ यात्राले कसरी शिखर चुम्न सफल भयो त रु बैंकिङ क्षेत्रमा समकालिन व्यक्तिमध्ये सफल बैंकर मानिने न्यौपानेका जीवनका आरोहअवरोहको भित्री कथा बाहिर आउन बाँकी नै छन् ।

आजको सफलतामा रसुवाको विकट गाउँको त्यो सानो सुन्दर घरदेखि काठमाडौंको ट्रेड टावरमा मुख्य कार्यालय रहेको एनआईसी एशिया बैंकसम्मको यात्रा जोडिएको छ । निधारमा सँधै सानो रातो टिका लगाउन मन पराउने न्यौपाने आफ्नो विगतदेखि वर्तमानसम्म सम्झन चाहन्छन् ।

रसुवाको कालिका गाउँपालिकामा जन्मेका न्यौपानेको परिवार ठूलो थियो । पाँच जना दाजुभाइ र चार बहिनी । चार दिदी बहिनीपछि पाँच दाजुभाइमध्येका चौथो नम्बरमा जन्मिए न्यौपाने । अर्थात नौ सन्तानमध्ये आठौं ।

‘बुबा सामाजिक, राजनीतिक, आर्थिकरुपले सक्रिए हुनुहुन्थ्यो,’ बाल्यकाललाई सम्झदै न्यौपाने भन्छन्, ‘पिछडिएको गरिब गाउँमा खानलगाउन पुग्ने परिवार हो हाम्रो ।’

गाउँमा लामो समय हिडेर स्कुल जानुपथ्र्यो । उनले कक्षा ५ सम्म बत्सलादेवी प्राथमिक विद्यालय पढे । त्योभन्दा माथि पढ्न श्रीकालिका हिमालय माध्यमिक विद्यालय गए । यो स्कुलमा अहिले क्याम्पससम्म पढाइ हुन्छ ।

न्यौपाने पढाइमा राम्रै विद्यार्थीमा पर्थे । त्योबेला उनले भविष्यमा शिक्षक बन्ने चाहना थियो ।

‘हामीले देख्ने सबैभन्दा ठूला व्यक्ति भनेका शिक्षक नै थिए,’ न्यौपाने भन्छन्, ‘शिक्षक नै सबैभन्दा ठूला हुन् भन्ने लाग्थ्यो ।’

२०५२ सालमा एसएलसी दिए । थप अध्ययनको लागि काठमाडौं गए । काठमाडौमा सबै कुरा नयाँ थिए । बालाजु बस्न थाले । त्योबेला एसएलसी सकेपछि ‘प्रोफिसेन्सी सर्टिफिकेट लेभल’ (पिसिएल) पढ्ने चलन थियो । के पढ्ने भन्दाभन्दै कमर्श पढ्न थाले।

पिसिएल पढ्दा पहिलो पटक चार्टर्ड अकाउन्टेन्ट (सीए) को बारेमा थाहा पाए ।

साथीहरुसँग के पढ्दा राम्रो हुन्छ भन्ने छलफल भइरहन्थ्यो । उनीहरुले सीए पढ्यो भने राम्रोहुन्छ भन्थे ।

‘पढ्न साह्रै गाह्रो छ तर पास गर्न सक्ने हो भने सबैभन्दा राम्रो पढाइ भनेको सीए हो’ साथीहरु सुनाउँथे, ‘सीए भनेको धेरै खत्रा हुन्छ रे !’

न्यौपानेलाई सीएप्रतिको मोह बढ्यो । पढ्ने रहर त थियो तर पढ्ने आँट गर्न सकेनन् । उत्तीर्ण भए त उत्तम हो तर पार लगाउन नसके त घर न घाट भइन्छ भन्ने डर भयो । भित्रैदेखि आँट गर्न सकेनन् ।

अन्तरमनको यही द्वन्द्वका बीच स्नातक तह अध्ययन गर्न शंकरदेव क्याम्पसमा भर्ना भए । स्नातक तहको पढाई उत्कृष्ट भयो । तीन वर्षको स्नातक तहको पढाइले उनलाई अर्को लेभलको आत्मविश्वास विकास गर्यो ।

त्यसपछि उनले आँट गरे सीए पढ्ने । उनी सीए गर्न इस्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्टस् अफ नेपालमा सीएमा भर्ना भए । सीए पढ्न सजिलो थिएन । पढाइ साच्चिकै गाह्रो थियो ।

न्यौपानले त्यो गाह्रोलाई सहज रुपमा लिए । कडा मेहनत गरे र उत्तीर्ण गरे ।

‘सीए पढाइ भनेको हाउगुजी छ तर त्यसलाई बुझेरमात्र पढ्नु पर्छ,’ न्यौपाने भन्छन्, ‘धेरैले परीक्षा केन्द्रित भएर पढ्छन् तर पढाइ भनेको बुझेर, विश्लेषण गरेर पढ्नु पर्छ ।’

सीए सकेपछि एक वर्ष ‘फ्रिल्यान्सर’का रुपमा काम गरे । स्वतन्त्ररुपमा बसेर काम गर्न पनि सम्पर्क र पहुँच हुनुपर्दो रहेछ । सीए पढेको मान्छे बैंकतिर जागिर भए पनि राम्रो हुन्छ भन्ने उनलाई लागिरहेको थियो ।

सन् २००८ मा बैंक अफ एसियामा जागिर खुल्यो । अन्तर्वार्ता दिए ।

‘काम गर्न सक्छौं,’ अन्तर्वार्ता लिनेले सोधे, ‘के के गर्न सक्छौं ?’

‘सीए उत्तीर्ण हुँ । बैंकको हरेक काम गर्न सक्छु,’ न्यौपानेले आत्मविश्वास सहित भने ।

भर्खर खुलेको नयाँ बैंक थियो । धेरै कुराहरु व्यवस्थापन हुँदै अघि बढिरहेको थियो । नयाँ सानो बैंक धेरैको चासो पनि थिएन ।

‘चार्टर्ड एकाउन्टेन्ट हो, अडिटको एक्सपोजर छदैछ, ब्राइट मान्छे छ । काम पक्कै राम्रो गर्छ,’ बैंकले सायद यस्तै सोच्यो । आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको रुपमा सन् २००८ अप्रिलदेखि बैंकिङ यात्रा शुरु भयो ।

विभाग प्रमुख नै भएपछि अझ बढी जिम्मेवारी थपियो । विभागमा उनीभन्दा माथि कोही थिएनन् । त्यो जिम्मेवारीलाई कसरी निभाउने भन्ने कताकता डर पनि थियो । नयाँ बैंकमा प्रणाली विकास गर्नु पर्ने ठूलो जिम्मेवारी पनि थियो ।

यसैक्रमा नेपालको बैंकिङ क्षेत्रमै ऐतिहासिक निर्णय भयो । २०७० असार १६ गते न्यौपानेले काम गरिरहेको बैंक अफ एशिया नेपाल लिमिटेड र तत्कालिन नेपाल इण्डडिट्रयल एण्ड कमर्शियल बैंक लिमिटेड ९एनआइसी० बीच मर्ज भयो । उक्त सफल मर्जरपछि दुई ठूला वाणिज्य बैंक मिलेर एनआइसी एशिया बैंक बन्यो ।

अडिटमा काम गरिरहेका न्यौपाने सन् २०१६ मा ‘चिफ रिक्स अफिसर’ को रुपमा ‘रिक्स डिपार्टमेन्ट’मा गए ।

दुई वाणिज्य बैंक मिलेर बनेको एनआईसी एशिया बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो र बलियो हुनुपर्ने थियो । मुलुकमै पहिलो पटक दुई ठूला वाणिज्य बैंक मिल्दा अरु कसैले नभेट्टाउनु पर्ने हो । तर, त्यसो हुन सकेन । मर्जरपछि पनि बैक ‘टप टेन’को अन्तिमतिर रहिरह्यो ।

बैंकभित्रको वातावरण सहज थिएन । सिनियर ६ जनाले स्वयेच्छिक अवकास (भीआरएस) लिएर गए । न्यौपाने सातौं स्थानमा थिए । सिनियर लगभग सबैले छाडेपछि ‘फ्लोर’ खाली जस्तै थियो । बैंक कसरी अगाडि बढ्ला भन्ने ठूलो चिन्ता थियो ।

बैंकले सीईओदेखि सिनियर पदमा नयाँ भर्ना गर्न भनेर भ्याकेन्सी खुला गर्यो तर खासै रुची देखिएन । सीईओमा पनि कोही आएनन् । सिनियर म्यानेजरमध्येबाट सातौं स्थानमा रहेका न्यौपाने सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भए ।

सहायक सीईओको रुपमा न्यौपानेले बिजनेस, अप्रेसनको, फ्रन्टलाइन म्यानेजमेन्ट सबै काम गर्न थाले । सहायक सीईओ भएको एक महिनामा गजबै राम्रो काम भयो । एनबीएसँगको द्वन्द्व पश्चात् तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ०ले छाडेपछि न्यौपाने निमित्त सीईओ भए । निमित्त सीईओ हुँदा बैंकले उच्च प्रगति गर्यो । निमित्त सीईओ भएको ९ महिनामा न्यौपाने सीईओ भए । न्यौपाने मुलुकको एक ठूलो वाणिज्य बैंकको सीईओ नियुक्त हुँदा यस क्षेत्रमा हंगाामा जस्तै भयो ।

३८ वर्षको युवा । बैंकिङ करियर शुरु गरेको १० वर्षमात्रै भएको थियो । नेपालमा बैंकिङ क्षेत्रमा वाणिज्य बैंकको सीईओ नियुक्त गर्न व्यवस्थापनले २० वर्षको अनुभव खोज्ने चलन छ । तर, एनआईसी एशिया बैंक त्यस मामिलामा फरक देखियो । न्यौपाने मुलुककै सबैभन्दा कान्छो र बैंकिङ करियरमा सबैभन्दा छिटो सीईओ भए ।

हल्का डर थियो तर मन कमजोर बनाउने कल्पना पनि गर्न सकिदैनथ्यो । अठोट चाहिन्थ्यो । बैंकले ठूलो लगानी गरेको थियो । भिजन सेट गरेको थियो ।

‘डर चिन्ताभन्दा पनि जिम्मेवारी बढी थियो,’ न्यौपाने भन्छन्, ‘सकिएन भने त बर्वाद हुन्छ भन्ने स्पष्ट थियो । १०० प्रतिशतमा लाग्नुपर्छ भन्ने भयो ।’

सामाजिक, व्यक्तिगत जीवन, मिडिया उपस्थिति जस्ता कुनै पनि विषयमा अल्मलिनु हुँदैन भन्ने उनलाई लाग्यो । उनी आफ्नो जीवन भनेकै बैंक हो भनेर लागे । एक सेकेन्ड पनि बाहिर खर्च गर्दिन भन्ने उनले अठोट गरे । सकिन्छ र सक्नुपर्छ भन्ने उनको मनमा थियो । मुलुकको वित्तीय क्षेत्रमा एउटा ‘कोशेढुंगा’ खडा गर्नुपर्छ भनेर लागे उनी ।

 

बैंकलाई अगाडि बढाउन सीईओले मात्र सक्दैनन् । सीईओलाई साथ दिने सक्षम टिमको आवश्यक पर्छ । उनले एक नयाँ सक्षम टिम बनाए । त्यो टिमलाई सञ्चालन गर्न बैंकको आफ्नो कल्चर विकास गरे । डिएनए बनाए । इथोज बनाए । यसले बैंकभित्र धेरै ठूलो उत्साह ल्यायो र धेरै ठूलो संकल्प सिर्जना गर्यो ।

‘त्यही संकल्प र सपनाको शक्तिले बैंकले भयंकरै राम्रो प्रगति गर्यो,’ न्यौपाने भन्छन्, ‘जुन प्रगति कसैले पनि सोच्न सकेका थिएनन्।’

दुई बैंक मर्जरमा गएको दुई वर्षमा पनि ऋण प्रवाह ३२ अर्ब रुपैयाँ थियो । जब उनले नेतृत्व सम्हाल्न थालेको एकै वर्ष ४८ अर्ब रुपैयाँ ऋण दिन सफल भयो । ६६ अर्ब रुपैयाँले निक्षेप बढ्यो ।

त्योबेला बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै रेकर्ड तोड्दै तीन गुणा बढी प्रतिफल निकाल्दै ‘ब्याक बेन्चरबाट मेन लाइन’मा बैंक आयो । एकै वर्षमा ज्यादै राम्रो रहर लाग्दो प्रगति गर्यो बैंकले । नम्बर ६ स्थानमा रहेको बैंक एक्कासी नम्बर वानमा आयो ।

न्यौपानेले बैंक सम्हालेपछि हरेक वर्ष एकपछि अर्को रेकर्ड राख्दै गयो । मुलुकका वाणिज्य बैंकहरुलाई पछि पार्दै अगाडि बढ्यो । हरेक वर्ष आफ्नै रेकर्डलाई तोड्दै मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो । जुन हरेक सरोकारवालाको रोजाइ बन्न सफल भएको छ । यो प्रगति हुनुमा न्यौपानेले तीन कुरालाई महत्पूर्ण ठान्छन् ।

 

पाँच वर्षअघि जसरी उनी एनआईसी एशिया बैंकको सीईओ नियुक्त भएका थिए । वातावरण सहज थिएन । बैंकका सुचकांक मध्यमस्तरका थिए । अनेक चुनौतिकाबीच न्यौपानले बैंकलाई छोटा र दीर्घकालीन योजना बनाए र बैंकलाई उच्च गतिमा दौडाए।

आज एनआईसी एशिया बैंक जुन स्थानमा छ । यसमा टिम, व्यवस्थापनको जति महत्वपूर्ण भूमिका छन्, त्योभन्दा धेरै भूमिका खेलेका छन् सीईओ न्यौपानेले ।

यसअवधिमा कर्जा विस्तार, निक्षेप संकलन, खुद नाफा, प्रति शेयर आम्दानी र स्वापूँजीमा प्रतिफल, निष्कृय कर्जा, शाखा संख्या र एटिएम विस्तार, मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट कार्ड तथा पिएसओ र क्युआर प्रयोगमा एनआईसी एशिया बैंकले छलाङ नै मारेको छ ।

दोस्रो कार्याकालको लागि तयार भइरहँदा न्यौपानेको योजना ‘भर्टिकल एक्सपान्सन’ छ । बैंक ‘एक्सिलेन्सी’को रुपमा बैंकिङ क्षेत्रमा स्थापित हुने उनको योजना छ । बैंकमा केही लगानीकर्ता भए पनि यो भनेको हरेक सरोकारवालाको संस्था हो ।

उनीहरुको विश्वास जित्नु नै बैंकको सबैभन्दा पहिलो सफलता हो । त्यसमा एनआईसी एशिया बैंकले ‘डिस्टिङसन’ ल्याइसकेको छ । ‘टेम्पो बिल्ड’ र ‘कन्भिन्सन सेट’ भइसकेको छ र अब बैंक ‘अटोपाइलट मोड’मा जाँदै छ । बैंक उकालो दौडिन तयार अवस्थामा छ ।