२०८१ मंसिर १२ , बुधवार

नेपालमा नानो युरिया मलको बिक्री सुरु

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले बिक्री सुरु गरेको हो ।

 

आइतबार एक कार्यक्रमकाबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गर्नुभयो । इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इण्डियाले उत्पादन गरेको यो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ । मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ ।

 

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि यो मल भित्राइएको बताउनुभयो । नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल भएको बताइएको छ । यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ । नानो युरिया मललाई पातबाट छर्किइने जानकारी दिइएको छ ।