सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याएको ४८ दिनसम्ममा १ सय ४९ वटा उजुरी परेका छन् ।
आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्ला स्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गराउँदै आएको हाे । दल र सम्बन्धित पक्ष आफैं सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लंघनका घटना देखिएका छन् ।
गत असोज १२ गतेदेखि उक्त आचारसंहिता कार्यान्वयनमा आएको थियो भने यहि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस र सञ्चार माध्यमका माध्यमबाट प्रचारप्रसारका लागि निर्धारण गरिएको थियो । मंसिर १ गते राति १२ बजेदेखि मतदानको दिनसम्म निर्वाचन प्रचारप्रसार निषेध (स्थिर अवधि) मानिनेछ । निर्वाचन आयोगका अनुसार १ सय ४९ वटा उजुरी परेकोमा आवश्यक चाँजबुझ गरी १ सय १६ वटा स्पष्टीकरण सोधिएको बताएको छ । जसमा ९ वटा घटनामा कारबाही, सचेत र निर्देशन समेत गरी निर्णय भइसकेको छ ।
राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चको हद बमोजिम कार्यान्वयनका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सुक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आयोगले यसअघि निर्देशन दिइसकेको छ । आयोगले आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन समेत दिएको छ ।