२०८१ पुष २७ , शनिवार

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर सम्पन्न

सुनाखरी न्युज/पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. १४ मझेरीपाटनमा रहेको श्री सहिद स्मृति आवासीय विद्यालयमा ४ दिन सम्म निःशुल्क दन्त शिविर सञ्चालन गरी औषधी उपचार गरेको छ ।

 

उक्त विद्यालयमा द्धन्द पीडित, सहित परिवार, १० वर्षे जनयुद्धमा बाबु आमा गुमाएका बाल बञ्चा, विभिन्न दैविक प्रकोपबाट बाबु आमा गुमाएका विपन्न परिवारका वाल बच्चाहरु अध्ययन गर्ने गर्दछन् । नेलम्बो नेपालको मोवाइल डेण्टल भेन मार्फत उक्त सेवा प्रदान गरिएको हो । नेलम्बो नेपालसँग अत्याधुनिक सुविधा सम्पन्न मोवाइल डेण्टल भेन रहेको र उक्त भेन मार्फत घुम्ति दन्त सेवा प्रदान गरेको छ । संस्थाले ४ दिनमा ३९७ जनाको दन्त परीक्षण गरेको छ । उक्त शिविरमा दाँत सफा गर्ने ८१, दाँत भर्ने १०२, दाँत निकाल्ने ३२, दाँतको जरै देखि उपचार४, दाँतको एक्सरे ३५ र विद्यार्थिहरुलाई मुख तथा दन्त रोग सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको थियो । दन्त शिविरमा पोखरा महानगर पालिका वडा नं. १४ का अध्यक्ष बोध बहादुर कार्कीले नेलम्बो नेपालले सञ्चालन गरेको दन्त शिविर आफुले देखे भोगेको शिविरहरु भन्दा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले नेलम्बो नेपालले कोभिड १९ को समयमा पनि स्वास्थ्य सामग्रीहरु तथा खाद्यान्यका सामग्रहिरु सहयोग गरी नेलम्बो नेपाल सम्पूर्ण कस्केली जनताको माझमा बस्न सफल भएको बताउनु भयो ।

 

त्यसै गरी विद्यालय प्रधानाध्यापक कल्पना चिलवालले नेलम्बो नेपालले गरिब दिन दुखी अध्ययन गर्ने यस विद्यालयमा मुख तथा दाँतको महङ्गो उपचार प्रदान गर्नु भएकोमा आभार व्यक्त गर्नु भयो । विपन्न परिवारका वालबच्चाहरु अध्ययन गर्ने र उपचारको लागि पैसा नहुने अवस्थामा नेलम्बो नेपालको सहयोग अतुलनीय रहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक मोना गिरीले सम्पूर्ण अतिथिहरुलाई स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो । उक्त निस्शुल्क दन्त शिविरमा नेलम्बो नेपालका डेण्टल सर्जन डा. सिजन मर्सानीको नेतृत्वमा ८ जनाको टोली संलग्न रहेको थियो । नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारील उक्त शिविरमा भएका सम्पूर्ण क्रियाकलापहरुको जानकारी प्रस्तुत गर्नु भएको थियो ।