२०८१ पुष ९ , मंगलबार

आजदेखि फुटबल महा–उत्सवः यस्तो छ उद्घाटन कार्यक्रम

सुनाखरी न्युज/ दोहा ।
आजदेखि फुटबल महा–उत्सव ।

 

दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशालाबाहिरै फुटबलको माहोल दिलाउन ‘फ्यान जोन’ बनाइएको छ । ‘फ्यान फेस्ट’ का लागि स्थान तोकिएको छ । सडकमा झिलिमिली गेटहरू बनाइएको छ । साँझको समयमा सडक र सहरका मुख्य स्थललाई विद्युतीय माध्यमबाट रंगीन बनाइएको छ । विश्वकपका खेल हेर्न विभिन्न देशबाट आएका दर्शक घाम ढल्किँदै जाँदा सडक र रंगशाला बाहिर बाजागाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् ।

हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो (रेल) विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ ।

 

कतारको माहोललाई विश्वकपले खुबै तताएको छ । २२ औं संस्करणको उद्घाटनमा आइतबार कतार र इक्वेडर भिड्दै छन् ।दोहामा व्यवसाय गरिरहेका नेपाली श्याम भुसालले भने, ‘कतारले यही विश्वकपका लागि हो १२ वर्षयता धेरै मिहिनेत गरेको । हामीले यत्तिका वर्ष नदेखेको परिवर्तन अहिले छोटो समयमै देखेका छौं । कतारको पूरा माहोल फुटबलमय भएको छ ।’ १६ वर्षअघि कतार आएका उनको कम्पनीले पनि विश्वकप रंगशालाको एक आयोजनामा काम गरेको छ ।

जम्मा ११ हजार ५ सय ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारमा ३ लाख ५० हजारभन्दा बढी नेपाली बस्छन् र यो संख्या कतारीको जनसंख्या ९करिब ३ लाख० भन्दा पनि बढी हो । कामको सिलसिलामा आएका नेपाली जस्तै आप्रवासी श्रमिकको संख्या करिब २३ लाख भएको बताइन्छ । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसियाका धेरै छन् ।

 

 

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा १५ अर्ब डलर खर्च भएको मानिन्छ । त्योभन्दा निकै बढी खर्च कतारले गरेको छ । हालसम्मकै सबैभन्दा महँगो विश्वकपमा २ खर्ब २० अर्ब डलर लगानी भएको बताइन्छ । खेल आयोजना हुने आठमध्ये सात रंगशाला नयाँ बनाइएका छन् । ३२ देशले प्रतिस्पर्धा गर्ने विश्वकप २९ दिन चल्नेछ । च्याम्पियनको टुंगो १८ डिसेम्बरमा लुसेल रंगशालामा हुने फाइनलले गर्नेछ ।