२०८१ कार्तिक २३ , शुक्रवार

नेपाल एयरलाइन्सले मङ्सिर १२ देखि भैरहवाबाट नयाँदिल्ली उडान गर्ने

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो ।

भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार सोमबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने गरी उडान तालिका स्वीकृतिका लागि प्राधिकरणसमक्ष पेश गरिएको छ ।

निगमको न्यारोबडी ए ३२० जहाजले काठमाडौँदेखि नयाँदिल्ली भएर भैरहवा गन्तव्यमा उडान भर्नेछ । जसअनुरुप नेपाल एयरलाइन्स काठमाडौँबाट दिल्ली पुगेर भैरहवा फर्किनेछ ।

भैरहवामा यात्रु ओरालेपछि जहाज काठमाडौँ फर्किनेछ । काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा एक घण्टा १५ मिनेटको उडान हुनेछ भने दिल्लीबाट भैरहवामा एक घण्टाको उडान हुनेछ । नेपाल एयरलाइन्सलाई भैरहवाबाट दिल्ली उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

 

नेपाल एयरलाइन्सले यसअघि काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि निगमको दिल्ली नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती भइ सातामा १० उडानमा सीमित गरिएको थियो । जसका कारण हिमालय एयरलाइन्सले कात्तिक १७ देखि गौतमबुद्ध विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको थियो ।

नेपाल एयरलाइन्सको जहाज दिल्ली पुगेर भैरहवा हुँदै काठमाडौँ फर्कदा भैरहवाबाट रित्तै काठमाडौँ आउनुपर्ने हुन्छ । भैरहवाबाट पनि काठमाडौँ यात्रु ल्याउनका लागि के कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता खड्काले बताए ।

नेपाल एयरलाइन्सले भारतको मुम्बाईमा साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार तथा बैङ्लोरमा साताको तीन दिन शनिबार, मङ्गलबार र बिहीबार उडान गर्दै आएको छ । नेपाल एयरलाइन्सले भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।

विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो ।

प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरूपमा आग्रह गरिसकेको छ ।