सुनाखरी न्युज/ काठमाडौँ । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले ३ सिटमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी एक सिटमा विजयी भएको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौं-१, ३, ४ र ५ मा कांग्रेस विजयी भएको छ । काठमाडौं-१ बाट कांग्रेसका प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा र ५ बाट प्रदिप पौडेल विजयी भएका हुन् । यसैगरि रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित हुँदा ललितपुर-१ मा कांग्रेसका उदय शमशेर राणा, तनहुँ-२ मा शंकर भण्डारी, मनाङमा टेकबहादुर गुरुङ तथा मुस्ताङमा योगेश गौचन थकाली विजयी भएका छन् ।
यसैगरी, नेकपा एमालेबाट अहिलेसम्म तीन जना प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । एमालेले काठमाडौं, ललितपुर र उदयपुरका एक एकवटा क्षेत्र जितेको छ । काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी हुँदा ललितपुर–२ मा प्रेम बहादुर महर्जन तथा उदयपुर–२ मा अम्बरबहादुर रायमाझी विजयी भएका छन् । यस्तै, काठमाडौ–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन शायमी ५ हजार ८ सय ८९ मतसहित दोस्रो तथा एकिकृत समाजवादीका जीवनराम श्रेष्ठ ४ हजार ८७७ मतसहित तेस्रो भएका छन् ।
रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीबाट कैलालीमा एक जना निर्वाचित भएका छन् । कैलाली–३ बाट गंगाराम चौधरी निर्वाचित भएका हुन् । अहिले देशका १ सय ४१ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । जसमध्ये ४४ सिटमा कांग्रेसले अग्रता लिईरहेको छ भने ४३ ठाउँमा एमालेले अग्रता लिएको छ । यसैगरी, १६ ठाउँमा माओवादी केन्द्रले अग्रता लिंदा राष्ट्रिय स्वतन्त्र पार्टी र एकिकृत समाजवादीले ८–८ सिटमा अग्रता लिएका छन् । राप्रपाले ५ ठाउँमा अग्रता लिएको छ भने जसपाले ५ ठाउँमा तथा लोसपाले ३ ठाउँमा अग्रता लिएका छन् । ८ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलहरुले अग्रता लिईरहेका छन् ।