सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौंको क्षेत्र नं. २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । रावि लामिछाने नेतृत्वको पार्टीको घण्टी चुनाव चिन्हमा उम्मेदवारी दिएका उनीहरु विजयी भएका हुन् ।
काठमाडौं–२ बाट सोविता गौतम विजयी भएकी छिन् । गौतमले १५ हजार १२९ मत ल्याएर विजयी भइन् भने दोश्रो स्थान कायम गरेका नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याएका छन् ।
त्यसैगरी काठमाडौंको क्षेत्र नं. ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार गणेश पराजुली विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएर दोश्रो स्थान ल्याउन सफल भएका छन् ।
त्यस्तै काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् । घण्टी चिन्हका विराजभक्त श्रेष्ठ १० हजार १०५ मत लिएर विजयी भए । उनका प्रतिस्पर्धी लौरोका उम्मेदवार सुमन सायमी ५ हजार ८८९ मतमा रोकिए ।