२०८१ मंसिर १० , सोमवार

नर्भिक आईभीएफमा ५५ वर्षीया महिलाले जन्माइन् सन्तान

सुनाखरी न्युज / काठमाडौं – ललितपुरकी एक ५५ वर्षीया महिलाले आईभीएफ टेस्ट ट्युब बेबी विधिबाट सन्तान जन्माएकी छन् । ललितपुरकी विमला रजकले शनिबार स्वस्थ शिशुलाई जन्म दिएकी हुन । विगत एक वर्षदेखि नर्भिक आईभीएफ सेन्टरमा उपचाररत उनको शल्यक्रियामार्फत शिशु निकालिएको हो । हाल शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरले जनाएको छ ।

 

 

बढ्दो उमेरमा गर्भधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ,” नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डा। नूतन शर्माले भनिन्, “अस्पतालको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै आईभीएफ मार्फत बच्चा जन्माउन सफल भयौं।” विमलाका ३० वर्षीय छोराको आकस्मिक निधन भएपछि उनले अर्को सन्तान जन्माउने निधो गरेकी थिइन्। अर्को सन्तानको आगमनबाट खुशीको सीमा नरहेको उनले बताइन । नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पती पहिलो प्रयासमै आईभीएफ विधिबाट सन्तान जन्माउन सफल भएको डा। शर्माले जानकारी दिइन्। श्रीमतीको उमेर ५५ वर्ष र श्रीमान्‌को उमेर ६८ वर्ष छ ।

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया एक महिलाले सोही विधिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन । डा। शर्माले भनिन “बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि भएको छ। तर, सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ ।”