२०८१ मंसिर ९ , आइतवार

दोहोरो अंकले बढ्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौँ । नेप्से बिहीबार सकारात्मक देखिएको छ । चुनावपछि खुलेको बजार केही दबाबमा देखिएको थियो । तर बिहीबार भने सूचकमा सकारात्मक प्रभाव परेको छ ।

 

यस दिन नेप्से सूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा आएको छ । ९२ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारले विस्तारै सकारात्मक लय समाउने कतिपय लगानीकर्ताहरुको बुझाई रहेको छ । यस्तै, समग्रमा हेर्दा पुँजी बजारले राजनीतिको क्लियर पिक्चरका साथमा आगामी मौद्रिक नीति समीक्षा पनि कुरिरहेको छ । चुनावपछि अहिले धमाधम मत गणना भइरहेको छ । आगामी सरकार कसको नेतृत्वमा बन्ने भन्ने लगायतका विषय अझै अन्योलमै छन् । यसलाई पनि लगानीकर्ताले निकै चासोका साथ हेरिरहेको देखिन्छ । यसैगरी, अर्को महत्वपूर्ण पक्ष भनेको मौद्रिक नीति समीक्षा हो ।

यसैगरी, लाभांशको सिजन भएकाले खरिदकर्ता उत्साहित हुन सक्छन् । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला भइरहेकाले सप्लाई भने केही बढेको छ । सेयर बजार घटबढ भइरहन्छ । यो बजारको नियमित र स्वभाविक प्रक्रिया हो । यसर्थ, लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले कारोबारसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । यस दिन २२५ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा शाइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक परेका छन् ।