२०८१ कार्तिक २४ , शनिवार

४ महिनामा बैंकहरुले दिए ४७ अर्ब कर्जा

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ ।

 

चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ । बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ । ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।

 

नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।